संसदमा ‘तमासा’ शब्दबारे विवाद, रास्वपा सांसद खरेलको स्पष्टीकरण

53 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको ‘तमासा’ शब्द असंसदीय नभएको भन्दै स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सांसद खरेलले विपक्षी दलहरूको विरोधलाई संकेत गर्दै ‘तमासा’ शब्द प्रयोग गरेका थिए । त्यसप्रति दोस्रो बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले नियमापत्ति गर्दै उक्त शब्द असंसदीय भएको र संसदीय रेकर्डबाट हटाउन माग गरेका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद खरेललाई आफ्नो धारणा स्पष्ट पार्ने मौका दिएका थिए ।

स्पष्टीकरण दिँदै खरेलले ‘तमासा’ शब्दलाई अशिष्ट भन्न नमिल्ने दाबी गरे । उनले भने, “नेपाली शब्दकोष हेर्ने हो भने तमासाको अर्थ हल्ला–खल्ला वा अनावश्यक कोलाहल हुन्छ, त्यसैले यो असंसदीय होइन।”

उनका अनुसार विधेयकमाथिको छलफलका क्रममा भइरहेको अवरोधलाई इंगित गर्दै आफूले उक्त शब्द प्रयोग गरेको हो ।