ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड

14 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

उनले अधिकारीलाई दक्षिण एशियाकै प्रथम निर्वाचित वामपन्थी प्रधानमन्त्री तथा सरल र सादगी नेताका रूपमा चित्रण गरे ।

राष्ट्रपति पौडेलले वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले पहिलो पटक ज्येष्ठ नागरिकका लागि मासिक वृद्ध भत्ताको सुरुवात गरेको ऐतिहासिक तथ्यको स्मरण गरे ।

तत्कालीन समयमा १०० रुपैयाँबाट शुरु भएको भत्ता हाल ४ हजार पुगेको उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षामा सो कदम कोशेढुङ्गा सावित भएको बताए ।

ज्येष्ठ नागरिकलाई समाजको एक विशिष्ट वर्गका रूपमा परिभाषित गर्दै राष्ट्रपतिले उनीहरूको स्वास्थ्य उपचार, उचित खानपान र स–सम्मान बाँच्न पाउने हकको सुनिश्चितता हुनुपर्ने बताए ।

पछिल्लो समय बढ्दो सहरीकरण, युवा पुस्ताको वैदेशिक रोजगारी र पारिवारिक असमझदारीका कारण ज्येष्ठ नागरिकहरूले अपहेलित हुनुपरेकोमा उनले चिन्ता व्यक्त गरे ।

राष्ट्रपतिले भने, ‘विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूसँगै मनमोहनजीले नेपाल र भारतको स्वाधीनता सङ्ग्राममा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनी एक उदारवादी वामपन्थी नेता हुनुहुन्थ्यो, जसले प्रजातन्त्र स्थापनाका लागि काँग्रेस र कम्युनिस्टबीचको सहकार्यमा जोड दिए । वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ । उनीहरूका असल अभ्यासलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न र शारीरिक रूपमा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन सरकारले ठोस नीति र कार्य योजना बनाउन आवश्यक छ ।’

नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको सन्दर्भमा यस अन्तर्राष्ट्रिय सम्मेलनले अन्य मुलुकका सफल अभ्यासहरूबाट सिक्ने अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

सम्मेलनले अन्तर–पुस्ता ज्ञान हस्तान्तरण र ज्येष्ठ नागरिकको प्रभावकारी व्यवस्थापनका लागि एक सेतुको काम गर्ने भन्दै राष्ट्रपतिले कार्यक्रमको पूर्ण सफलताको कामना गरे ।