काठमाडौं । संवैधानिक परिषद्ले बिहीबार गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति राखेकी छिन् ।
उनले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै रोष प्रकट गरिन् ।
संवैधानिक र अरू सबै प्रधानन्यायाधीशमा कामू प्रधानन्यायाधीश समेत रहेक वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको उनको तर्क छ ।
‘यति योग्यताले भरिएको महिला, यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा ?,’ कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।
योग्यताले भरिएको एक सक्षम महिलालाई रोक्ने काम सरकारबाट भएको भन्दै यसको परिणाम पनि वर्तमान सरकारले नै भोग्नुपर्ने उनको भनाइ थियो ।
‘राज्यको तीनवटा संस्था हुन्छन् । सबै संस्थाको आफ्नो एउटा प्रतिष्ठा हुन्छ गर्व हुन्छ । प्रहरीमा कसरी नियुक्ति हुन्छ ? अगाडि अगाडि छानिँदै आउँछ नि । एउटा सिपाही पनि प्रमोसन पाउँदै पाउँदै माथि पनि आएको हुन्छ,’ उनले भनिन्, ‘न्यायाधीशको पनि त्यस्तै प्रमोसन हुँदै हुँदै आएको हुन्छ । सर्वोच्चमा नियुक्ति भएपनि त्यहाँ पनि त योग्यता अनुसार हुन्छ । अलिकति योग्यता नभएको भए त बीचमा ड्रप गर्न सकिन्छ नि ।’
उनले आफू प्रधानन्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधानन्यायाधीश भनेर रिपोर्ट आएको प्रसंग उल्लेख गर्दै त्यसप्रति अहिलेको सरकारले सोच्दै नसोचि निर्णय लिएको बताइन् ।
‘अहिले जुन सपनाजी हुनुहुन्छ । उहाँ कुनै अयोग्य मान्छे होइन । उहाँले जीवनभर वकालत गर्नुभएको हो। उहाँले आइएनजीओ र एनजीओबीच पनि वकालत गर्नुभएको छ । कानुन बनाउनलाई मद्दत गरेको गर्नुभएको हो,’ उनले भनिन् ।
देशमा महिलासम्बन्धी कानुन ल्याउनका लागि सपना प्रधान मल्ल जस्ता पात्रहरूको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया