काठमाडौं । इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध हाललाई रेड नोटिस जारी गर्न नसकिने जनाएको छ ।
सम्बन्धित कसुर स्पष्ट रूपमा पुष्टि नभएको र अनुसन्धानको प्रकृति तथा अवस्थाबारे आवश्यक मापदण्ड नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको हो । साथै, एउटै विषयमा एकैपटक सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढाइएको विषयमा पनि इन्टरपोलले प्रश्न उठाएको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले प्रहरीमार्फत इन्टरपोलसँग रेड नोटिस जारी गर्न अनुरोध गरेको थियो ।
स्रोतका अनुसार इन्टरपोलले कसुरको प्रकृति, अनुसन्धानको प्रगति र कानुनी आधारबारे थप स्पष्टता माग्दै पत्र फिर्ता पठाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतले पनि रेड नोटिसका लागि पठाइएको प्रस्ताव स्वीकृत नभई फिर्ता आएको पुष्टि गरेको छ ।
देउवा दम्पती हाल विदेशमा रहेको बताइए पनि उनीहरूको अवस्थाबारे सरकार वा परिवारबाट औपचारिक पुष्टि भएको छैन । यसअघि जेनजी आन्दोलनका क्रममा निवासमा भएको आक्रमणपछि उनीहरू उपचारका लागि विदेश गएका थिए ।
सरकारले उनीहरू देशबाहिर रहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा ल्याएको थियो । अब इन्टरपोलको पछिल्लो निर्णयसँगै अनुसन्धान प्रक्रिया र कानुनी कदमबारे थप बहस हुने देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया