लिपुलेक विवादबारे रास्वपाले भन्योः भारत–चीनले गरेको सम्झौता मान्य हुँदैन

80 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रलाई लिएर दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता नेपालका लागि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

सीमा विवादको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उनले यस सम्बन्धमा कुटनीतिक नोटसमेत पठाइसकिएको जानकारी दिएका हुन् । पराजुलीले नेपाललाई जानकारी नगराई छिमेकी राष्ट्रहरूले लिपुलेकका सम्बन्धमा गरेको द्विपक्षीय सम्झौताप्रति आपत्ति जनाए ।

सीमा विवाद जस्तो संवेदनशील विषयलाई उत्तेजना भन्दा पनि कुटनीतिक र राजनीतिक संवादका माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए । पराजुलीकाअनुसार सरकारले यस प्रक्रियालाई अगाडि बढाउन आवश्यक तयारी गरिरहेको छ र संवादबाटै समस्याको निकास निकाल्न सरकार प्रतिवद्ध रहेको छ । ‘हामीलाई जानकारी नदिई दुई छिमेकी देशले गरेको व्यापारिक सम्झौता हाम्रा लागि मान्य छैन । सरकारले आफ्नो तर्फबाट सीमा विवादलाई संवादमार्फत टुङ्ग्याउन स्पष्ट अडानका साथ नोट पठाइसकेको छ’ उनले भने ।

उनले सरकारले आफ्नो तहबाट आवश्यक पहलकदमी शुरु गरिसकेकाले यस विषयमा धेरै टिप्पणी गरिरहनु आवश्यक नरहेको समेत उल्लेख गरे ।