संसदीय समितिहरुको उजुरी व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउन एकद्वार प्रणाली लागू

70 Shares

काठमाडौं । संसदीय समितिहरुको उजुरी व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउन संघीय संसद सचिवालयले एकद्वार प्रणाली लागू गरेको छ ।

सार्वजनिक चासोका विषयमा संसदीय समितिहरूसँग सम्बन्धित सबै गुनासो, सुझाव वा उजुरी एउटै स्थानबाट दर्ता गर्नेगरी ‘जनसम्पर्क–दर्ता चलानी एकाई’ स्थापना गरिएको संघीय संसदका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

यसअघि सेवाग्राहीले सम्बन्धित समिति सचिवालयमै पुगेर मात्र गुनासो तथा उजुरी दर्ता गर्नुपर्ने अवस्था थियो । नागरिकलाई समिति कार्यालयको स्थानसम्बन्धी जानकारी नहुँदा अलमल हुने तथा समितिहरुलाई समेत उजुरी संकलन तथा व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले उक्त एकाई स्थापना गरिएको गिरीको भनाइ छ ।

उनले एउटै विषयमा धेरै ठाउँमा उजुरी दर्ता हुँदा प्रक्रियामा जटिलता र दोहोरोपनाको समस्या देखिएको कारण एकद्धार प्रणालीमार्फत उजुरी व्यवस्थापनको कार्य अघि बढाइएको उनको भनाइ छ ।

उनका अनुसार एकाईले प्रणालीमार्फत उजुरी दर्ता, वर्गीकरण र सम्बन्धित समितिमा पठाउने काम समेत गर्नेछ ।