सरकारसँग चिरिबाबु महर्जनको मागः सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गरियोस्

14 Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदाहरुको निर्माणमा सहज हुनेगरी सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्पदा निर्माण÷पुनर्निर्माणमा समस्याको रुपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका हुन् । ‘म महानगरको मेयर भएको करिव नौ वर्ष भयो । यो नौ वर्षको दौरानमा हामीले ललितपुर महानगर क्षेत्र भित्र रहेका सम्पदाहरु लगभग बनाउन सिद्धियो । सबै नै बनाउने काम सकियो भन्दा पनि फरक पर्दैन । एउटा, दुई वटा अन्डर कन्सट्रक्शनमा छ । तर यो बनाउँदै गर्दा हामीले भोगेको साह्रै गाह्रो, साह्रै नमिल्ने कुरा भनेको चाँही सार्वजनिक खरिद ऐन, २०६३ हो’ उनले भने ।

मेयर महर्जनले आफूले मेयरको रुपमा काम गर्दा सबै भन्दा ठूलो समस्याको रुपमा सो ऐन देखेकाले सरकारले त्यसलाई तत्काल संशोधन गरेर विकास, निर्माणको कामलाई सहज बनाउनुपर्ने बताए । ‘हुन त मैले यो मेरो पहिलो कार्यकाल देखि नै यो विषयमा कुरा उठाउँदै आईराखेको र अहिलेको वर्तमान सरकारले चाहीँ यसलाई संशोधन पनि गर्छ भनेर प्रतिवद्धता पनि जाहेर भइसकेको तसर्थ अहिले हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीज्युको समुपस्थितिमा मैले जोडदार माग गर्न चाहेँ’ उनले भने ।

त्यस अवसरमा मेयर महर्जनले आफूले ललितपुर महानगरपालिकाको क्षेत्रभित्रका सबै सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गरिसकेको दावी समेत गरे ।