सातौं भन्सार सुधार योजना आउँदै: उत्पादनमुखी अर्थतन्त्रमा जोड

143 Shares

काठमाडाैं । भन्सार विभाग ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सातौं भन्सार सुधार योजना लागू गर्ने तयारी गरेको छ।

काठमाडाैंमा उद्योगी तथा व्यवसायीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी ले नयाँ भन्सार योजना निर्माणको काम भइरहेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा छैटौं पञ्चवर्षीय भन्सार सुधार योजना सकिन लागेकाले विभागले नयाँ रणनीतिक योजना अघि बढाएको हो।

उहाँका अनुसार सातौं सुधार योजनाको मुख्य लक्ष्य ‘उत्पादनमुखी अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुनेछ। साथै, भन्सार दरहरूको पुनरावलोकन र व्यापार सहजीकरणलाई प्राथमिकतामा राखिने बताइएको छ।

नयाँ योजना तथा आगामी बजेटको तयारी भइरहेका बेला विभागले निजी क्षेत्रबाट ठोस सुझावको अपेक्षा गरेको छ। महानिर्देशक भण्डारीको संयोजकत्वमा रहेको राजश्व परामर्श समिति अन्तर्गत उपसमितिले यस सम्बन्धमा काम गरिरहेको छ। शुक्रबार बस्ने बैठकअघि सुझाव उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो।

मुलुकमा कायम राजनीतिक तथा नीतिगत स्थिरताको सदुपयोग गर्दै भन्सार प्रशासनलाई उद्योगीमैत्री बनाउने र दीर्घकालीन नीति निर्माण गर्ने यो उपयुक्त समय भएको उहाँको भनाइ रहेको छ।