अत्यधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा २५ अर्ब रुपैयाँ निक्षेप खिचिने

118 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न बुधबार बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ।

राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम उठाउन लागेको हो। यससम्बन्धी बोलकबोल तथा निष्कासन प्रक्रिया आजै सञ्चालन हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत सहभागी हुनुपर्नेछ।

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र सहभागी हुन अनुमति दिइएको छ। राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता नियन्त्रण गर्न यस्तो उपकरण प्रयोग गर्दै आएको छ।

बैंकहरूलाई न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँको गुणकमा (निःशेष भाग जाने गरी) बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २० गते गरिने जनाइएको छ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले यस्ता मौद्रिक उपकरणहरू नियमित रूपमा प्रयोग गर्दै आएको छ।