काठमाडौं । डॉ. स्वर्णिम वाग्ले ले सेयर बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको बताएका छन्। उनले सरकारले कुनै पनि प्रकारको धरपकड अभियान नचलाएको स्पष्ट पार्दै साना लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन्।
सेजनद्वारा प्रकाशित ‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिः समृद्धि, असमानता र सुधारको वर्षौंदेखिका बहस’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले केही व्यक्तिहरूले साना लगानीकर्तालाई आतंकित बनाउने अनुचित खेल खेलिरहेको आरोप लगाए। उनले साना लगानीकर्तामाथि कुनै कारबाही नहुने स्पष्ट पारे।
मन्त्री वाग्लेले नेपालका सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी रहेको बताए। उनका अनुसार पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा जाने व्यवस्था, स्पष्ट कर प्रणाली तथा कारोबारको पारदर्शिताले बजारलाई विश्वसनीय बनाएको छ।
उनले सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिएको उल्लेख गर्दै अन्य क्षेत्रमा पनि यस्तै प्रणाली विस्तार गर्ने योजना रहेको जानकारी दिए।
उक्त पुस्तकमा मन्त्री वाग्लेका आठवटा लेख समावेश छन्। पुस्तकमा विगतका आर्थिक सुधारका एजेण्डाहरू समेटिएको छ भने एक सय अर्ब डलरभन्दा ठूलो अर्थतन्त्र बनाउने लक्ष्यसहित डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया