प्रधानमन्त्री कपमा आर्मी र सुदूरपश्चिम विजयी, तालिकामा शीर्ष प्रतिस्पर्धा

161 Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

जनकपुरमा भएको खेलमा त्रिभुवन आर्मी क्लब ले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो। मधेशले दिएको १८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका तृतराज दासले ६९ रन बनाउँदा बसिर अहमद ४१ रनमा अविजित रहे। मधेशका मोहम्मद आदिल आलमले २ विकेट लिए।
यस जितसँगै आर्मी ५ खेलमा ४ जितसहित ९ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ, जबकि मधेश ७ अङ्कसहित चौथो स्थानमा छ।

त्यस्तै, वीरगञ्जमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २ विकेटले हरायो। गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरपश्चिमले ३९.२ ओभरमा ८ विकेट गुमाउँदै भेटायो। सुदूरपश्चिमका अभिषेक पालले ६६ रन बनाउँदा नारायण जोशी ४५ रनमा अविजित रहे। गण्डकीका विपिन खत्रीले ५ विकेट लिए।
यो जितसँगै सुदूरपश्चिम ५ खेलमा ४ जितसहित ८ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने गण्डकी ३ अङ्कसहित नवौँ स्थानमा छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन्। खेलहरू काठमाडौंको मूलपानी मैदान तथा मधेश प्रदेशका वीरगञ्ज र जनकपुरमा सञ्चालन भइरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ।