नेपालमा पश्चिमी वायुको प्रभाव: पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

124 Shares

काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोतर्फ हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।