काठमाडौं । शेयर बजारमा आज उल्लेखनीय गिरावट आएको छ। NEPSE परिसूचक ७४ अंकले घट्दै २७७६ विन्दुमा झरेको हो।
बालेन शाह नेतृत्वको सरकार गठनपछि लगातार घट्दो क्रममा रहेको बजार हिजो केही सम्हालिए पनि आज पुनः ओरालो लागेको हो।
बिचौलिया दीपक भट्ट लगायतमाथि कारबाही प्रक्रिया अघि बढेको खबरसँगै बजारमा बिक्री चाप बढेको बताइएको छ। विशेषगरी नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्स जस्ता ठूला कम्पनीका सेयरमा उच्च बिक्री दबाब देखिएको छ।
आज नेप्से २.६२ प्रतिशतले घट्दा २५५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मात्रै मूल्य बढेको छ।
यसैबीच, हालै आईपीओ सूचीकृत भएका रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रो, रिजलाइन हाइड्रो, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्रो र होटल फरेस्ट इन गरी ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
तर नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशत घाटा व्यहोरेका छन्।
आज कुल ३४७ स्टकका ३ करोड २ लाख ९२ हजार कित्ता सेयर १२ अर्ब १० करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी ७१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया