काठमाडौं । बालेन शाह को नेतृत्वमा नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ७१ अंकले घट्दै २८७९ विन्दुमा झरेको हो ।
बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो । सूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार १५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । कारोबारमा ९ कम्पनीको मूल्य बढ्दा २५६ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत रूपमा सबै सूचकहरू घटेका छन् । फाइनान्स क्षेत्र सबैभन्दा बढी ३.३८ प्रतिशतले घट्दा बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार समूह ३.०१ प्रतिशतले घटेका छन् ।
यसबीच ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् । सीवाईसी नेपाल लघुवित्तको मूल्य ७.१ प्रतिशत र सोलु हाइड्रोपावरको ३.५ प्रतिशतले बढेको छ ।
त्यसैगरी युनिक नेपाल लघुवित्त ६.१७, हिमाल दोलखा ५.४५, अभियान लघुवित्त ५.३९ र माउन्टेन हाइड्रो नेपाल ५.३७ प्रतिशतले घटेका छन् । आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर रहेका छन् ।
बजार घट्नुको मुख्य कारण पछिल्ला दिनमा भएको धरपकड र आन्दोलनलाई मानिएको छ । एक ब्रोकर सञ्चालकका अनुसार नयाँ सरकार गठनसँगै बजारमा उत्साह आउने अपेक्षा भए पनि राजनीतिक गतिविधिले लगानीकर्ताको मनोविज्ञानमा असर पारेको हो ।
उनका अनुसार पछिल्ला दिनमा बजार बढिसकेको र लगानीकर्ताले नाफा सुरक्षित गर्ने अवसर खोजिरहेको अवस्थामा आन्दोलन र धरपकडले बिक्री चाप बढाएको हो । गत साता नेप्से ७३ अंकले बढेको थियो भने एक महिनाअघि २६७३ विन्दुमा रहेको बजार आइतबार खुल्दा २९५० विन्दुसम्म पुगेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया