महिला मन्त्रालय गाभ्ने तयारीविरुद्ध माइतीघरमा प्रदर्शन

91 Shares

काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। महिला तथा मानवअधिकारकर्मीहरूले प्रदर्शन गर्दै मन्त्रालय गाभ्ने तयारीप्रति असन्तुष्टि जनाएका हुन्। नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने योजनाअनुसार उक्त मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभ्ने तयारी गरेपछि विरोध भएको हो।

रास्वपाले यी दुई मन्त्रालय गाभेर ‘स्वास्थ्य तथा समाजकल्याण मन्त्रालय’ बनाउने तयारी गरेको बताइएको छ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले निर्णय भइसकेपछि परिवर्तन गर्न कठिन हुने भएकाले निर्णयअघि नै खबरदारी गरिएको बताइन्। उनका अनुसार राज्यको खर्च कटौती गर्ने नाममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समाहित गर्ने तयारी गरिएको जानकारी प्राप्त भएको छ। उनले जनसंख्याको ५१ प्रतिशत महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकका सवाल उक्त मन्त्रालयले सम्बोधन गरिरहेको बताइन्।

उनले १८ देखि ४९ वर्षका सक्षम व्यक्तिबाहेक अन्य नागरिकको संरक्षण गर्ने मन्त्रालय हटाउनु आपत्तिजनक भएको उल्लेख गरिन्। पछिल्लो समय जिल्लास्थित महिला विकास कार्यालय खारेज गरिँदा समस्या उत्पन्न भएको पनि उनले बताइन्। राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले बारम्बार महिला मन्त्रालयलाई लक्ष्य बनाइने गरेको बताइन्। संविधानपछिको राज्य पुनःसंरचना क्रममा पनि मन्त्रालय गाभ्ने प्रयास भएको र महिला अधिकारकर्मीहरूको विरोधका कारण रोकिएको उनले स्मरण गरिन्।

उनले राज्यले महिला मन्त्रालयलाई कहिल्यै प्राथमिकतामा नराखेको आरोप लगाउँदै पहिले मन्त्रालय र पछि महिला आयोगसमेत खारेज गर्ने तयारी हुन सक्ने भन्दै सचेत रहन आग्रह गरिन्। उनले महिलाहरूको आन्दोलनमा मानवअधिकार आयोगको सहयोग रहने पनि बताइन्। महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साहले महिला मन्त्रालय हटाउने निर्णय लोकतन्त्रमाथिको प्रहार भएको बताइन्।

उनले यस्तो कदम स्वीकार्य नहुने र मन्त्रालयलाई झन् सशक्त बनाउनुपर्नेमा जोड दिइन्। प्रदर्शनमा सहभागीहरूले ‘महिला मन्त्रालय खारेज गर्न पाइँदैन’, ‘५१ दशमलव ५ प्रतिशतको पहिचान, हाम्रो मन्त्रालय हाम्रो शान’, ‘महिला आन्दोलनको उपलब्धिमाथि कुठाराघात गर्न पाइँदैन’, ‘अधिकारका लागि सडकमा छौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।