काठमाडौं । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।
सोमबार अदालतमा उपस्थित भएका आचार्यविरुद्ध न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो। इजलासले तोकेको धरौटी बुझाएपछि आचार्य तारेखमा रिहा भएका छन् र अब मुद्दाको पुर्पक्ष बाहिरै बसेर गर्नेछन्।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्व पर्यटनमन्त्रीसहित ५५ जनाविरुद्ध करिब ८ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। मुद्दामा १० पूर्वसचिवसमेत प्रतिवादी रहेका छन्।
अख्तियारका अनुसार आचार्यले चिनियाँ कम्पनी CAMC इन्जिनियरिङसँग विमानस्थल निर्माणका लागि २१ करोड ५९ लाख अमेरिकी डलरको सम्झौता गर्न २०७१ जेठ ८ मा अन्तिम स्वीकृति दिएका थिए। त्यसपछि चाइना एक्जिम बैंकबाट सहुलियत ऋण लिने प्रक्रिया अघि बढाउने निर्णय पनि उनले मन्त्रीका रूपमा गरेका थिए।
अनुसन्धानले प्रारम्भिक लागत अनुमान १६ करोड ९६ लाख डलरबाट बढेर २४ करोड ४० लाख डलर पुगेको दाबी गर्दै त्यसलाई भ्रष्टाचारको आधार बनाएको छ।
यस मुद्दामा पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य र रामकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत अन्य उच्च अधिकारीहरू पनि मुद्दामा संलग्न छन्।
विशेष अदालतका अनुसार आचार्यले धरौटी बुझाइसकेका छन् र अब मुद्दाको नियमित सुनुवाइ अघि बढ्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया