काठमाडौँ — मुस्लिम समुदायले आज पवित्र पर्व ईद उल फित्र धुमधामका साथ मनाइरहेका छन्। अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनाभर निराहार व्रत (रोजा) बसेपछि विशेष नमाज अदा गर्दै यो पर्व मनाउने परम्परा रहेको छ।
पर्वको अवसरमा बिहान विशेष नमाज पाठ गरिन्छ भने त्यसपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने चलन छ। यस क्रममा सानालाई आशीर्वाद दिने र आफन्तलाई सेवई, खजुरलगायत मीठा परिकार खुवाउने प्रचलन रहेको छ।
खुसीपूर्वक दान गरेर दीनदुःखी तथा गरिबलाई सहयोग गर्ने भएकाले यस पर्वलाई ईद उल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि मात्र पर्व मनाउने मिति तय हुने मुस्लिम धर्मावलम्बी बताउँछन्।
शनिबार बिहान काठमाडौँको घन्टाघरस्थित जामे मस्जिदमा विशेष नमाज अदा गरिएको छ। त्यस्तै, देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रम आयोजना गरिएका छन्।
यस पर्वको अर्को महत्वपूर्ण पक्ष दान (जकात) हो। मुस्लिम धर्मग्रन्थ कुरानअनुसार एक वर्षको बचतको साढे दुई प्रतिशत रकम वा जिन्सी दान गर्नुपर्ने व्यवस्था छ, जसलाई गरिब तथा विपन्नलाई वितरण गरिन्छ। त्यस्तै, ‘सदकातुल फित्र’ (फितर) स्वरूप गहुँ वा सो बराबरको नगद दान गर्ने परम्परा पनि रहेको छ।
एक महिनादेखि सञ्चालन भएको रोजा आज समाप्त भएको हो। धार्मिक विश्वासअनुसार यस व्रतले वर्षभरका पापबाट मुक्ति दिलाउने मान्यता छ।
ईदको अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइ तथा आफन्तसँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया