काठमाडाैं । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत ले बिहान साढे ११ बजे आयोग परिसरमा प्रमाणपत्र वितरण गरिने जानकारी दिनुभएको हो । राजनीतिक दलबाट छनोट भई पेश भएका उम्मेदवारको विवरण आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
प्रमाणपत्र वितरणसँगै नयाँ संसद्को औपचारिक कार्यभार सुरु गर्ने बाटो खुल्ने भएको छ । प्रतिनिधिसभामा निर्वाचित सम्पूर्ण सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण भने आगामी चैत १२ गते गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ६ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट, नेपाली कांग्रेस ले २० सिट, नेकपा एमाले ले १६ सिट, नेपाल कम्युनिष्ट पार्टी ले ९ सिट तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले चार/चार सिट प्राप्त गरेका छन् ।
कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना निर्वाचित हुने व्यवस्था रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया