अर्थमन्त्री खनाल: सकारात्मक आर्थिक सूचकबीच पनि ठूला चुनौती कायम

163 Shares

काठमडाैं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिए पनि मुलुकका सामु ठूला चुनौतीहरू अझै रहेको बताउनुभएको छ।

काठमडाैंमा बुधबार नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उहाँले समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिए पनि अर्थतन्त्रमा केही महत्वपूर्ण समस्याहरू अझै कायम रहेको औँल्याउनुभयो। बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु मुख्य चुनौती भएको उहाँले बताउनुभयो।

मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुन सक्ने र आयातित वस्तुको मूल्य बढ्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो। यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पुर्‍याउन सक्ने भएकाले सबै पक्ष सचेत हुनुपर्ने उहाँको भनाइ छ। साथै, केही विषयमा द्रुतगतिमा निर्णय लिनुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो।

अर्थमन्त्री खनालले मुलुक अहिले सरकार परिवर्तनको संघारमा रहेको र शक्तिशाली बहुमतसहितको नयाँ सरकारले वाह्य चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक संकेत देखिएको छ — शोधनान्तर वचतमा रहेको, चालु खाता वचतमा रहेको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र मुद्रा स्फीति दर कम रहेको छ। नेपाल सरकारको राजश्व वृद्धिदर कम्तीमा चार प्रतिशत पुगेको र लक्ष्यको तुलनामा करिब ८३ प्रतिशत राजश्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो।

यद्यपि, अर्थमन्त्री खनालले यी सुधारहरू पर्याप्त नभएको र मुलुकमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म, निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा लगानी नहुँदासम्म, लगानीकर्ताको हातमा पूँजी पुग्ने वातावरण सहज नहुँदासम्म र लगानीकर्तामा आत्मविश्वास नबढेसम्म केवल सकारात्मक सूचकको आधारमा सन्तुष्ट हुन नसकिने स्पष्ट पार्नुभयो।