काठमाडाैं । चैत्र कृष्ण औंसीका दिन मनाइने परम्परागत घोडे जात्रा पर्व आज काठमाडाैं उपत्यकाभर विविध कार्यक्रमसहित धुमधामका साथ मनाइँदै छ।
उपत्यकामा प्रचलित प्राचीन जात्रामध्ये एक मानिने यस पर्वसँग धार्मिक तथा सांस्कृतिक किंवदन्ती जोडिएको छ। परापूर्व कालमा उपत्यकामा मानव वस्तीमा आतंक मच्चाउने र बालबालिका खाइदिने राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको विश्वासका आधारमा घोडेजात्रा मनाउने परम्परा रहँदै आएको छ।
त्यसैगरी, प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु हुने विश्वासअनुसार त्यसको अघिल्लो दिन अर्थात् चैत्र कृष्ण औंसीमा घोडा कुदाएर (अश्वयात्रा) नयाँ वर्षलाई स्वागत गर्ने चलन पनि रहेको छ।
घोडेजात्राको अघिल्लो दिन पर्ने चैत कृष्ण चतुर्दशीलाई ‘पिशाच चतुर्दशी’का रूपमा समेत लिने गरिन्छ।
यस अवसरमा नेपाली सेना ले काठमाडाैंको टुँडिखेल मा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलाको आकर्षक प्रदर्शन गर्दैछ।
यस्तै, पाटन क्षेत्रमा एक्लो घोडा दौडाएर विशेष तरिकाले घोडेजात्रा मनाउने परम्परा रहेको छ।
पर्वको अवसरमा सरकारले काठमाडाैं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया