बागलुङ। ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमण नियन्त्रणतर्फ उन्मुख देखिएको छ। प्रभावित बिरामीमध्ये ६७ जना उपचारपछि घर फर्किएका छन् भने २० जनाको अझै आइसोलेसनमा उपचार भइरहेको छ।
फागुनको पहिलो सातादेखि फैलिएको दादुराबाट १२६ जना संक्रमित भएका थिए। तीमध्ये बिरामीहरूलाई बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरिएको थियो।
संक्रमणबाट बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँ विशेष रूपमा प्रभावित भएका थिए। प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार हाल बुर्तिबाङ अस्पतालमा १६ जना र बोबाङ स्वास्थ्य चौकीमा ४ जना गरी २० बिरामी उपचाररत छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा दादुरा संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरूले तीव्र रूपमा संक्रमितहरूको खोजी गरी उपचार सुरु गरेका थिए।
यसैबीच, जनस्वास्थ्य कार्यालयका खोप ‘सुपरभाइजर’ राजु खत्रीका अनुसार ५ हजार ७६७ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ। नगरपालिकाका सबै वडामा १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिएको हो।
स्वास्थ्यकर्मीहरूले संक्रमण थप फैलिन नदिन खोप, जनचेतना र निगरानीलाई सँगसँगै अगाडि बढाइएको जनाएका छन्। स्थानीय तह र स्वास्थ्य निकायको सक्रियताका कारण अहिले संक्रमण नियन्त्रणतर्फ उन्मुख भएको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया