काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंकले घटेको छ। यससँगै बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १४ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको हो।
आज ४८ कम्पनीको शेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहका सूचक घटेका छन्। उक्त समूहको सूचक भने ०.२५ प्रतिशतले बढेको छ।
समूहगत रूपमा बैंकिङ १.६१ प्रतिशत, विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.७१ प्रतिशत, होटल तथा पर्यटन ०.२६ प्रतिशत, लगानी १.५२ प्रतिशत, जीवन बीमा ०.९४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत, निर्जीवन बीमा ०.४५ प्रतिशत, अन्य १.०९ प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले घटेका छन्।
आज पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। १० प्रतिशत बढ्ने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१ प्रतिशत, सिन्धु विकास बैंकको ६.३३ प्रतिशत र नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशतले मूल्य बढेको छ।
यता नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशतले घटेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपर हेवाखोला, एसवाई प्यानल र रिडी पावर रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया