कोटेश्वरबाट ११० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

125 Shares

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–५ मोरङ बस्ने २२ वर्षीय सरोज दवाडी र सोही स्थानका २२ वर्षीय सुगम काकी रहेका छन्।

प्रहरीका अनुसार बिहीबार (फागुन २६) कोटेश्वर क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ११० ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो।

लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई काठमाडौं जिल्ला अदालत बाट म्याद थप गरी थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।