काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
बिहान केही समय घटेको बजार परिसूचक दिनभरको उतारचढावबीच २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको हो।
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूह बाहेक बाँकी १० वटा उपसमूह बढेका छन्। बढेका उपसमूहमध्ये बैंकिङ उपसमूह सर्वाधिक २ दशमलव ०२ प्रतिशतले बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, होटल फरेष्ट इन र नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। घटेका स्टकहरूको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
दिनभर ३३५ वटा स्टकका ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एचआइडीसीएलपीको करिब ५७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया