लेबनानमा इजरायली आक्रमणः मृतक ५७०, घाइते १,४४४, करिब ७ लाख ५९ हजार विस्थापित

136 Shares

एजेन्सी। इजरायली सेनाको आक्रमणमा परी लेबनानमा मृत्यु हुनेको संख्या ५ सय ७० पुगेको छ।

लेबनानी मन्त्रिपरिषद्को प्रकोप जोखिम व्यवस्थापन इकाईले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च २ देखि शुरु भएको आक्रमणमा हालसम्म १ हजार ४ सय ४४ जना घाइते भएका छन्। यस द्वन्द्वले देशभरी ठूलो स्तरमा विस्थापन निम्त्याएको छ। सरकारी तथ्यांक अनुसार करिब ७ लाख ५९ हजार ३ सय मानिस विस्थापितका रूपमा दर्ता भएका छन्।

अधिकारीहरूले युद्धका कारण घर छोड्न बाध्य भएका परिवारका लागि विभिन्न क्षेत्रमा ५ सय ८० आश्रयस्थल स्थापना गरिएको जानकारी दिएका छन्। यी आश्रयस्थलहरूमा हाल १ लाख २२ हजार ६ सय विस्थापित मानिस बसोबास गरिरहेका छन्।

यसैबीच लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले बेरुतको दक्षिणी उपनगरीय क्षेत्रमा तीन वटा हवाई आक्रमण गरेको जनाएको छ। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा पनि इजरायली सेनाका आक्रमण जारी छन्। इजरायलले हेजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान शुरु गरेको जनाएको छ। यसअन्तर्गत लेबनानका विभिन्न भू–भागमा तीव्र हवाई आक्रमण र सीमा क्षेत्रमा स्थलगत सैन्य कारबाही भइरहेका छन्।

इजरायलले लिटानी नदीको दक्षिणी क्षेत्र र बेरुतको दक्षिणी उपनगरीय क्षेत्रका बासिन्दालाई त्यहाँबाट स्थान खाली गर्न चेतावनी दिएको छ।