सिरियाको ऐतिहासिक शहर अलेप्पोका प्राचीन बजारहरू (सूक) को पुनर्निर्माण कार्य तिब्र पारिएको छ । वर्षौँ लामो द्वन्द्वका कारण क्षतिग्रस्त भएका यी विश्वप्रसिद्ध संरचनाहरूको जीर्णोद्धार केवल भौतिक पूर्वाधारको निर्माणमा मात्र सिमित नभई, यहाँको सामाजिक र आर्थिक जीवनलाई पुनः जीवित गराउने लक्ष्यका साथ अघि बढाइएको छ । अलेप्पोको प्राचीन शहरलाई सन् १९८६ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । करिव १५ किलोमिटर क्षेत्रमा फैलिएका यहाँका ३९ वटा बजारहरू विश्वकै सबैभन्दा लामो कभर्ड मार्केट (छानो भएका बजार) मानिन्छन् ।
यी बजारहरू विभिन्न परम्परागत हस्तकला र विशिष्ट व्यापारका लागि प्रख्यात छन् । तर विगतको युद्धले यी ऐतिहासिक धरोहरहरूमा व्यापक क्षति पु¥याएको थियो । गैर–नाफामूलक संस्था ‘सिरियन डेभलपमेन्ट अर्गनाइजेसन’ सँग आवद्ध फिरास कास्मोकाअनुसार अलेप्पोको वास्तविक पुनरुत्थानका लागि भौतिक संरचनासँगै व्यापारी, कालिगड र स्थानीय बासिन्दाहरूको पुनरागमन अनिवार्य छ । कास्मोकाअनुसार हालसम्म सरकारी निकाय, स्थानीय संस्था र अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा नौवटा बजारहरूको पुनस्र्थापना भइसकेको छ ।
यद्यपि, जग्गाको स्वामित्व सम्बन्धी विवाद, भग्नावशेष व्यवस्थापन र पर्याप्त आर्थिक स्रोतको अभाव जस्ता समस्याहरूले पुनर्निर्माण प्रक्रियामा चुनौती थपेका छन् । यी अवरोधहरू पन्छाउन सरकारी र अन्तर्राष्ट्रिय निकायहरूबीच थप समन्वय आवश्यक रहेको उनले औँल्याए । पुनर्निर्माण सम्पन्न भएका क्षेत्रहरूमा बिस्तारै व्यावसायिक गतिविधि शुरु हुन थालेका छन् । सूक अल–हिबालको पुनस्र्थापनापछि सन् २०२३ मा आफ्नो हस्तकला पसल पुनः सञ्चालनमा ल्याएका ओसामा रोस्तमले ग्राहकहरूको आगमन उत्साहजनक रहेको बताए ।
उनी भन्छन्, ‘सबै ३९ वटा बजारहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र यहाँको आर्थिक चक्रले पुरानो गति लिनेछ । विदेशमा रहेका सिरियालीहरू स्वदेश फर्किएमा यसले थप ऊर्जा प्रदान गर्नेछ । त्यस्तै, सन् २०२० देखि पुनर्निर्माण शुरु भएको ‘सूक अल–सकातिया’ मा सुक्खा फलफूलको व्यापार गर्दै आएका अब्दुल कादेर अल–कुसाइब पनि आगामी दिनप्रति आशावादी छन् । नयाँ बजारहरू खुलेसँगै ग्राहक र पर्यटकहरूको चहलपहल बढ्दै गएको उनको अनुभव छ । ऐतिहासिक अलेप्पोलाई पुरानै गौरवमा फर्काउन भौतिक पुनर्निर्माणका साथै मानिसहरूमा विश्वास जगाउनु र उनीहरूलाई आफ्ना थातथलोमा फर्काउनु नै अहिलेको मुख्य कार्यभार देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया