काठमाडौं । पश्चिम एशिया (मध्यपूर्व) क्षेत्रमा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौतीका विषयमा नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियामा विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी दिनुभएको हो।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले तत्काल नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पार्नुभयो।
सचिव राईका अनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ। सरकारद्वारा गठन गरिएको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरू पनि सम्बन्धित क्षेत्रमा रहेका नेपाली नियोगमार्फत कार्यान्वयन भइरहेका छन्।
उहाँले हालसम्मको विश्लेषणअनुसार नेपाली नागरिकको सुरक्षामा तत्काल खतरा देखिएको अवस्था नरहेको बताउँदै नेपालमा रहेका परिवारजन र विदेशमा रहेका नेपालीलाई अनावश्यक चिन्ता नलिन आग्रह गर्नुभयो।
नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि समन्वय गरिरहेको जनाएको छ। भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायत श्रमिक पठाउने देशका दूतावास र मिसनहरूसँग नेपाली राजदूत तथा कन्सुल जनरलहरूले दैनिक रूपमा समन्वय गरिरहेको सचिव राईले जानकारी दिनुभयो।
सरकारले आवश्यक परे नागरिक उद्धार गर्न पूर्ण रूपमा सक्षम रहेको पनि उहाँले बताउनुभयो। विकल्प नभएको अवस्थामा जुनसुकै उपाय अपनाएर नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काइने उहाँको भनाइ छ। साथै आवश्यक परे पानीजहाज चार्टर गरेरसमेत उद्धार गर्ने तयारी रहेको सरकारले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया