काठमाडौं । बुधबार सेयर बजार ४६.७८ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ।
बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि परिसूचक निरन्तर ओरालो लागेको हो। यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर नेप्से २८७५ अंकसम्म पुगेको थियो। त्यसयताका दुई दिनमा बजार ७९ अंकले घटेको छ।
आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि ३८ प्रतिशतले घटेको छ। अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।
समूहगत सूचकमा व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशतले घटेका छन्।
बुधबार साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३३ प्रतिशत, रिडी पावरको ५.७२ प्रतिशतले वृद्धि भएको छ।
यता कालिका पावरको सेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले घटेको छ। पञ्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ तथा ट्रेड टावरको ४.४७ प्रतिशतले मूल्य घटेको छ।
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप रहेका छन्।





फेसबुकबाट तपाईको प्रतिक्रिया