चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने

117 Shares

काठमाडौं । निर्वाचन आयोगले चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित हुने दल र उम्मेदवार समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाइने तयारी भइरहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ। प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार महावीर पुन एक सिटमा विजयी भएका छन्।

आयोगले समानुपातिकतर्फको मतगणना आज सकाएर राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका सांसद बन्नेहरूको सूची पठाउन पत्राचार गर्ने जनाएको छ। प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनअनुसार दलहरूलाई सूची पठाउन तीन दिनको समय दिनुपर्ने व्यवस्था छ। त्यसअनुसार आयोगले दलहरूलाई चैत १ गतेसम्मको समय दिनेछ।

त्यसपछि आयोगले दलहरूले पठाएको सूचीमा कुनै त्रुटि भए/नभएको तथा संविधान र कानुनअनुसार क्लस्टर मिलेको–नमिलेको अध्ययन गर्नेछ। नमिलेको अवस्थामा मिलाउन थप दुई दिनको समय दिइनेछ।

छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने आयोगले जनाएको छ। त्यसपछि एक–दुई दिनभित्र प्रतिवेदन तयार गरी राष्ट्रपतिलाई बुझाइनेछ।

यससँगै सम्भवतः चैत दोस्रो साताभित्र नयाँ सरकार गठन हुने सम्भावना रहेको बताइएको छ।