नेपाल एयरलाइन्सले काठमाडौँ–दुबई विशेष उडान सुरु गर्यो

139 Shares

काठमाडौं । नेपाल एयरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि बुधबारदेखि काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडान सञ्चालन गर्ने भएको छ।

एयरलाइन्सका अनुसार मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएको थियो। त्यसैको समाधानका लागि यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउन विशेष उडानको व्यवस्था गरिएको हो।

काठमाडौँ–दुबई उडान बुधबार राति सवा ११ बजे हुने योजना छ भने दुबई–काठमाडौँ उडान बिहीबार अपराह्न ४ बजेर १० मिनेटमा तय गरिएको छ।

गत फेब्रुअरी २८ तारिखदेखि मार्च महिनासम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले बुधबार रातिको विशेष उडानमा यात्रा गर्न चाहनु भएमा आफ्नो टिकट इमेलमार्फत पठाएर पुनः प्रमाणीकरण गराउनुपर्ने एयरलाइन्सले जनाएको छ। टिकट प्रमाणीकरण भएका यात्रु मात्र विमानस्थल पुग्न सक्ने व्यवस्था गरिएको छ।

पश्चिम एशियामा तनाव केही कम भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले मंगलबारदेखि काठमाडौँका लागि आंशिक उडान पुनः सुरु गरेका छन्।

अमेरिका–इरानबीच युद्ध सुरु भएपछि संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका थिए। यसका कारण नेपालमा पनि बढी अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदै आएका छन्।