बोतल र जेरिक्यानमा पेट्रोल बिक्री नगर्न आयल निगमको निर्देशन

50 Shares

काठमाडौं । नेपाल आयल निगमले विभिन्न स्थानमा बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल आदि) बिक्री भइरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको छ।

निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन धनुषा र महोत्तरीलाई पत्र लेख्दै बोतल तथा जेरिक्यानमा इन्धन बिक्री–वितरण नगर्न आग्रह गरेको हो। सार्वजनिक गुनासो प्राप्त भएपछि यस विषयमा निगमको ध्यानाकर्षण भएको जनाएको छ।

निगमका अनुसार अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ यसरी खुला रूपमा बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्ने भएकाले यस्तो कार्य रोक्न आवश्यक भएको हो।

पत्रमा विक्रेता तथा पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री नगर्न र नगराउन स्पष्ट निर्देशन दिइएको छ। साथै डिलर्स एसोसिएसनमार्फत आफ्ना सदस्य तथा सर्वसाधारणलाई सचेत गराउन र नजिकैको आधिकारिक विक्रेता तथा पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न जानकारी गराउन पनि अनुरोध गरिएको छ।

डिपो प्रमुख रञ्जित कपडीद्वारा हस्ताक्षरित पत्रमा निगमबाट अनुगमन गर्दा कैफियत भेटिए निगमको विनियमावली तथा नेपाल सरकारको प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

nigam.png