समानुपातिक मतगणना चैत ५ भित्र सक्ने तयारी

96 Shares

काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना लगभग सकिएको छ भने समानुपातिकतर्फको मतगणना जारी रहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र मतगणना सम्पन्न गरी समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिने लगायतका प्रक्रिया पूरा गर्ने लक्ष्यका साथ आयोगले काम गरिरहेको छ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ।

त्यसपछि निर्धारित संख्यामा समानुपातिक क्लस्टरअनुसार प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदहरूको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गरिनेछ। दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि उक्त नामावली समावेशी क्लस्टरअनुसार मिलेको वा नमिलेको परीक्षण गरी आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम यकिन गर्नेछ।

त्यसपछि निर्वाचित सांसदहरूलाई प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया पूरा गरिने निर्वाचन आयोगले जनाएको छ। यी सबै काम आगामी चैत ५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन्।