काठमाडौं । भारतले न्युजिल्यान्डलाई पराजित गर्दै आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
भारतले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रन बनाउँदा अलआउट भयो। न्युजिल्यान्डका टिम साइफर्टले ५२ तथा कप्तान मिचेल स्यान्टनरले ४३ रन बनाए। भारतका जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको थियो। भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४ र अभिषेक शर्माले ५२ रन बनाए। न्युजिल्यान्डका जेम्स निशामले ३ विकेट लिएका थिए।
योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक आईसीसी टी–२० विश्वकपको उपाधि जित्ने पहिलो टोली बनेको छ। भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो।
न्युजिल्यान्ड भने दोस्रो पटक उपविजेता बनेको छ। यसअघि सन् २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो।
भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको हो। भारतले २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो भने २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो।
१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। त्यस्तै जसप्रित बुमराह फाइनल खेलका उत्कृष्ट खेलाडी बनेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया