माघ मसान्तसम्म २ खर्ब ५५ अर्ब ऋण प्राप्ति

60 Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण प्राप्त गरेको छ।

अर्थ मन्त्रालय मातहतको **सार्वजनिक ऋण व्यवस्थापन कार्यालय**का अनुसार चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा माघ मसान्तसम्म ४२ दशमलव ८९ प्रतिशत ऋण प्राप्त भएको हो।

कार्यालयका अनुसार आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकोमा माघ मसान्तसम्म १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँले वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ दशमलव ८१ प्रतिशत हुन आउँछ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८२–८३ मा ऋण सेवा खर्चका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्म २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेटको ४९ दशमलव ५५ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनको आधारमा माघ मसान्तसम्म कुल ऋण सेवा खर्च ३ दशमलव ३३ प्रतिशत रहेको छ।