इजरायल र इरान नजान सरकारको आग्रह, यात्रा स्थगित गर्न सुझाव

159 Shares

काठमाडौं । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायलइरानको यात्रा नगर्न आह्वान गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो।

एडभाइजरीमा भनिएको छ, “इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ।”

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै मन्त्रालयले सम्बन्धित देशहरूले जारी गरेका सुरक्षा परामर्श तथा निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।

“सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्,” मन्त्रालयले जनाएको छ।

यसैगरी, मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि आग्रह गरेको छ।