निर्वाचन सफल बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण : आयुक्त तुलाधर

185 Shares

काठमाडौं । जानकीकुमारी तुलाधरले फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।

देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै उनले सकारात्मक वातावरण निर्माणका लागि आयोग मात्र नभई सबै पक्षको सहयोग आवश्यक रहेको स्पष्ट पारिन्।

निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिँदै आयुक्त तुलाधरले राजनीतिक दलहरूसँग पनि नियमित छलफल भइरहेको बताइन्। निर्वाचनका प्रमुख साझेदारका रूपमा रहेका दलहरूको सहयोग अनुभूत भइरहेको र त्यो निरन्तर रहिरहने अपेक्षा आयोगले गरेको उनले उल्लेख गरिन्।

उनले भनिन्, “निर्वाचन आयोगले मात्र निर्वाचन सम्पन्न गर्न सक्दैन। यसमा स्टेकहोल्डरहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेका छौँ। राजनीतिक दलहरूसँग पनि छलफल गरेका छौँ। उहाँहरूको सहयोग हामीले अनुभूत गरिरहेका छौँ र यो निरन्तर रहिरहोस् भन्ने आग्रह गर्दछु।”

फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै नेपाली उत्सुक रहेको उल्लेख गर्दै उनले आ–आफ्नो स्थानबाट योगदान गर्न सबैमा आह्वान गरिन्।

आयुक्त तुलाधरले संघ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल तथा सम्पूर्ण सरोकारवालाको समन्वय र सहकार्यबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताइन्।