काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु देखिन सक्नेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित अन्य हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारण बदली रहनेछ भने ती प्रदेशका पहाडी क्षेत्रसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया