निर्वाचन आयोग नेपाल: मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने तयारी

166 Shares

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक मतपेटिका संकलनको समय घटाएर मतदानकै दिन साँझदेखि मतगणना सुरु गर्ने योजना बनाएको छ।

आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताको प्रतीक्षा समय छोट्याउन यस्तो रणनीति अपनाइएको जानकारी दिए। मतदान सम्पन्न भएलगत्तै सकेसम्म छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तीव्र पारिएको उनले बताए।

विगतका अनुभवलाई आधार मानेर यसपटक मतपेटिका संकलनको समय उल्लेख्य रूपमा घटाइने जनाइएको छ। आयोगको योजना अनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना सुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। यसका लागि राजनीतिक दलहरूसँग समन्वय गर्दै मतदानअघि नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसक्ने तयारी गरिएको छ।

प्रवक्ता भट्टराईले मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले ‘सद्भावनापूर्ण उद्देश्य’सहित यो कदम चालेको स्पष्ट पारे। स्थानीय तहमा आउनसक्ने प्राविधिक कठिनाइलाई ध्यानमा राख्दै आयोगले अधिकतम दक्षताका साथ काम गर्ने लक्ष्य लिएको जनाएको छ।

अधिकांश निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि आयोगले जानकारी दिएको छ।