निर्वाचन आयोग: ४३ संस्थाद्वारा प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षण

141 Shares

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन्।

निर्वाचन आयोगले ३ अन्तर्राष्ट्रिय र ४० राष्ट्रिय गरी कुल ४३ संस्थालाई निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको जनाएको छ। आयोगका अनुसार ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई आवश्यक प्रशिक्षणसमेत दिइसकिएको छ।

आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई मात्र अनुमति प्रदान गरिएको जानकारी दिए। उनका अनुसार ती संस्थाहरूले निर्वाचन प्रक्रियाको पारदर्शिता, निष्पक्षता र विश्वसनीयताको अनुगमन गर्नेछन्।

त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न देशका निर्वाचन आयुक्तसहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउने भएका छन्।

आयोगले पर्यवेक्षकहरूको उपस्थितिले निर्वाचनलाई अझ विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरमा पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।