प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा मतपत्र पुग्यो

162 Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशका सबै १६५ निर्वाचन क्षेत्रमा मतपत्र सुरक्षित रूपमा पुगिसकेको जनाएको छ।

आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिकाअनुसार मतपत्र छपाई तथा ढुवानी कार्य सम्पन्न गरिएको हो। समानुपातिकतर्फ दुई करोड ८ लाख ३० हजार र प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र छपाई गरी सबै क्षेत्रमा पठाइएको छ।

आयोगले २०८२ पुस २२ गतेदेखि मतपत्र छपाई सुरु गरी फागुन ५ गते सम्पन्न गरेको जनाएको छ। त्यसपछि २०८२ माघ २९ गतेदेखि हवाई तथा स्थलमार्गबाट ढुवानी कार्य एकसाथ सुरु गरिएको थियो। कर्णाली, सुदूरपश्चिम, कोशी, लुम्बिनी, गण्डकी, मधेस र वागमती प्रदेशमा क्रमशः मतपत्र पठाइएको आयोगले जानकारी दिएको छ।

मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाई गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइएको पनि आयोगले जनाएको छ। निर्वाचन प्रयोजनका सबै मतपत्र तथा नमूना मतपत्र जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा छपाई गरिएको हो।