१६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

143 Shares

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ।

कूटनीतिक नियोगका प्रमुखहरू, संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्था र विकास साझेदारहरूलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आयोग प्रतिबद्ध रहेको बताउनुभयो।

निर्वाचनको सुचारु सञ्चालन तथा पर्यवेक्षणका लागि निर्वाचन सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति (जेईओसी) स्थापना गरिएको उहाँले जानकारी दिनुभयो। साथै, निर्वाचन अवधिमा फैलिन सक्ने भ्रामक सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिविरुद्ध आयोगले कडा कदम चालेको स्पष्ट पार्नुभयो।

भण्डारीले भन्नुभयो, “१६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ। निर्वाचन जानकारी स्थापना गरिएको छ। सूचना तथा समन्वय केन्द्र, कल सेन्टर र संयुक्त निर्वाचन सञ्चालन समिति सहज सञ्चालनदेखि अवलोकनसम्मका लागि सक्रिय छन्। गलत सूचना, मिथ्या सूचना र घृणायुक्त भाषणविरुद्ध कारबाही गरिरहेका छौं।”

आयोगले निर्वाचनको सफल सञ्चालनका लागि सबै सरोकारवालाको निरन्तर सहयोग, समर्थन र सद्भावको अपेक्षा गरेको छ। साथै, सम्पूर्ण नागरिकलाई निर्धक्क भएर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।