काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ।
दिनभरको उतारचढावका बीच बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। नेप्सेमा रहेका १३ उपसमूहमध्ये नौ उपसमूहको परिसूचक बढ्दा चार उपसमूहको परिसूचक घटेको छ।
निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहका परिसूचक भने सामान्य अंकले घटेका छन्। आज १३७ कम्पनीको शेयर मूल्य बढ्दा ११८ कम्पनीको मूल्य घटेको छ।
सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। त्यस्तै, नविल बैंकको ‘नविल डिबेञ्चर’का लगानीकर्ताले सबैभन्दा बढी ३.६० प्रतिशत गुमाएका छन् भने श्रीनगर एग्रीटेकका लगानीकर्ताले ३.५७ प्रतिशत घाटा बेहोरेका छन्।
दिनभर ३३५ स्टकको एक करोड ५३ लाख कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरमा कारोबार भएको छ। कारोबार रकमका आधारमा अपि पावर कम्पनीको सर्वाधिक ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।





फेसबुकबाट तपाईको प्रतिक्रिया