देशभर प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला रत्ननगर नगरपालिका–८ स्थित माझी, मुसहर टोल भने अझै पनि चुनावी रौनकतादेखि टाढा देखिएको छ। २९ घरपरिवार बसोबास रहेको उक्त बस्तीमा हालसम्म कुनै उम्मेदवार मत माग्न नआएको स्थानीयको गुनासो छ।
टोलकी अध्यक्ष बासमती माझीका अनुसार अघिल्ला निर्वाचनमा विभिन्न दलका उम्मेदवार वा प्रतिनिधि मत माग्न आउने गरे पनि यसपटक भने कोही नआएको बताइन्। “अहिलेसम्म यहाँका मतदाता भेट्न कुनै उम्मेदवार आउनु भएको छैन,” उनले भनिन्। उनका अनुसार धेरै स्थानीयलाई कुन दलबाट को उम्मेदवार छन् भन्ने जानकारीसमेत छैन। मतदान नजिकिँदै गर्दा मतदाता शिक्षा स्वयंसेवकसमेत नआएको उनले गुनासो गरिन्।
दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका यस समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव कायमै छ। पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझीले निर्वाचनप्रति चासो नदेखाएको बताए। “मलाई मतदान गर्ने इच्छा नै छैन, केको निर्वाचन लाग्नु?” उनले भने। ‘प्लस टु’ उत्तीर्ण गरे पनि स्थायी रोजगारी नपाएर अटो भाडामा लिएर चलाउँदै आएका उनले रोजगारी, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी नभएकाले मतदानप्रति रुचि नभएको बताए।
त्यस्तै, कक्षा १२ सकेर घरमै सीप सिक्दै आएकी अञ्जली माझीले पनि उम्मेदवारहरूले आफ्नो बस्तीलाई बेवास्ता गरेको गुनासो गरिन्। “यहाँका धेरै मतदातालाई मतदान गर्ने तरिकासमेत थाहा छैन,” उनले भनिन्।
स्थानीय बासिन्दाले उम्मेदवारको प्रत्यक्ष संवाद र प्रभावकारी मतदाता शिक्षाको अभावले आफूहरू निर्वाचन प्रक्रियाबाट टाढिएको अनुभूति भएको बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया