नेपाल–भारतबीच जैविक विविधता संरक्षणमा समझदारी पत्र हस्ताक्षर

178 Shares

काठमाडौं । नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । भारतको नयाँ दिल्ली मा उक्त समझदारीमा हस्ताक्षर भएको वन तथा वातावरण मन्त्रालय ले जनाएको छ ।

वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईं र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव को उपस्थितिमा नेपालका तर्फबाट राजदूत डा. शंकर प्रसाद शर्मा र भारतका तर्फबाट सो मन्त्रालयका सचिव तन्मय कुमारले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल र भारत दुवै संयुक्त राष्ट्रसंघअन्तर्गत जैविक विविधता तथा वातावरण संरक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धीका पक्षधर राष्ट्र हुन् । दुई देशको सीमावर्ती क्षेत्रमा संरक्षित क्षेत्र तथा जैविक मार्ग रहेकाले हात्ती, गैंडा र बाघ लगायतका वन्यजन्तु स्वतन्त्र रूपमा सीमा वारपार गर्ने गर्छन् ।

यही सन्दर्भमा संरक्षित क्षेत्र व्यवस्थापन, जैविक विविधता संरक्षण, वन्यजन्तु अपराध नियन्त्रण तथा साझा रणनीति अवलम्बनमा समन्वय र सहकार्य गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

समझदारी पत्रले फिल्डमा कार्यरत कर्मचारीको क्षमता विकास, सीमा क्षेत्रमा हुने चोरी सिकार तथा अवैध व्यापार नियन्त्रण, वन्यजन्तु अध्ययन–अनुसन्धान र अनुगमन, साथै स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअन्तर्गत सीमा आसपासका क्षेत्रमा नियमित गस्ती र बैठक आयोजना गरी अनुभव तथा ज्ञान आदान–प्रदान, असल अभ्यासको विकास तथा अवैध व्यापारसम्बन्धी सूचना तत्काल आदान–प्रदान गर्ने व्यवस्था गरिएको छ । वन्यजन्तु अपराध नियन्त्रणका लागि दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालमार्फत सूचना आदान–प्रदान गर्न सकिने प्रावधान पनि समेटिएको छ ।

नेपालतर्फ उक्त समझदारी कार्यान्वयनका लागि केन्द्रमा मन्त्रालय र मातहतका निकाय तथा स्थानीय तहमा सम्बन्धित प्रदेशका वन तथा वातावरण मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले समन्वय गर्नेछन् ।

समझदारी पत्र हरेक पाँच वर्षमा स्वतः नवीकरण हुने र प्रत्येक तीन वर्षमा पुनरावलोकन गर्ने व्यवस्था गरिएको छ । कार्यान्वयनका क्रममा समस्या उत्पन्न भएमा आपसी समझदारीमा समाधान गर्ने प्रावधान समेत उल्लेख गरिएको छ ।