चिसो बढे पनि मुस्ताङमा चुनावी सरगर्मी तीव्र

138 Shares

काठमाडाैं । हिमाली जिल्ला मुस्ताङमा तापक्रम शून्यमा झरेर चिसो अत्यधिक बढे पनि चुनावी गतिविधि भने झन् तातिएको छ । राजनीतिक दल तथा उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भएका छन् ।

गत महिनासम्म माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो । हाल पनि माथिल्लो क्षेत्रमा माइनस १० डिग्री र तल्लो मुस्ताङमा माइनस ३ डिग्री तापक्रम रहेको छ । प्रतिकूल मौसमका बाबजुद घाँसादेखि नेपाल–चीन सिमानाको कोरला नाकासम्म चुनावी माहोल तातेको छ ।

जिल्लामा उम्मेदवारी दिएका ८ दलमध्ये मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)राष्ट्रिय स्वतन्त्र पार्टी बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्य दलहरूले पनि प्रचार अभियानलाई तीव्र बनाएका छन् ।

उम्मेदवारहरूले कोरला नाका पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सुधार, सडक सञ्जाल विस्तार तथा जलवायु संकट न्यूनीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । अलपत्र योजनालाई अघि बढाउने, युवा उद्यमशीलता प्रवर्द्धन गर्ने तथा भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारी व्यवस्थापन, तालिम तथा सुरक्षा योजना कार्यान्वयन भइसकेको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको कार्यालयले जनाएको छ ।