काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि उच्च सतर्कता अपनाएको जनाएको छ।
निर्वाचनअघि राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा सम्भावित झडप, आमसभा, भेला तथा सडक अवरोधजस्ता घटनाले स्वास्थ्य सेवा प्रभावित हुन सक्ने आँकलन गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ले चुनावी कार्यक्रमका क्रममा कार्यकर्ताबीच झडप हुनसक्ने तथा निर्वाचन बिथोल्ने नाममा केही समूहले सडक अवरुद्ध गर्नसक्ने सम्भावना रहेको बताउनुभयो। रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना हुने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको उहाँको भनाइ छ।
समन्वय र निर्देशन
मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ। साथै निर्वाचन आयोग लाई पनि स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको छ।
सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन, लामो बिदा स्थगित गर्न र सेवामा खटिरहन आग्रह गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो।
आपत्कालीन तयारी
झडपका कारण घाइते अस्पताल पुग्दा स्वास्थ्यकर्मी अनुपस्थित भए गम्भीर समस्या पर्न सक्ने भन्दै मन्त्रालयले सम्भावित आपत्कालीन अवस्थाका लागि तयारी गरेको जनाएको छ।
-
स्वास्थ्यकर्मीलाई अभिमुखीकरण र भर्चुअल तालिम
-
आवश्यक औषधि तथा उपकरणको मौज्दात व्यवस्थापन
-
रणनीतिक स्थानमा लजिस्टिक सामग्री भण्डारण
-
आवश्यक परे आपत्कालीन मेडिकल टिम तथा ¥यापिड रेस्पोन्स टिम परिचालन
मन्त्रालयका अनुसार निर्वाचन अवधिभर स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा अविरल रूपमा सञ्चालनमा रहनेछन्।
प्रवक्ता बुढाथोकीले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले मन्त्रालय सधैँ तयारी अवस्थामा रहने र विशेष परिस्थितिअनुसार तयारीलाई परिमार्जन गरिने बताउनुभयो।





फेसबुकबाट तपाईको प्रतिक्रिया