काठमाडाैं । वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंक ले आज ८८ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको छ।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७७ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। अधिक तरलता तथा ब्याजदर व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।
को–को सहभागी हुन पाउने?
बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले प्रस्ताव गरेको सबैभन्दा कम ब्याजदरलाई प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ।
निक्षेप संकलनका लागि अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ र ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ जेठ १० गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।
संरचनात्मक खुला बजार कारोबारको व्यवस्था
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थापनका लागि संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
कति तरलता प्रशोचन?
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा
-
निक्षेप संकलन बोलकबोलमार्फत १,४२५ अर्ब ५० करोड रुपैयाँ,
-
स्थायी निक्षेप सुविधामार्फत २७,०८६ अर्ब ९० करोड रुपैयाँ,
-
राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रुपैयाँ
गरी कुल २८,७१२ अर्ब ४० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ।
यस अवधिमा ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह भएको र खुद २८,६९९ अर्ब ९० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विभिन्न मौद्रिक उपकरणमार्फत खुद १३,९९९ अर्ब ८० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया