काठमाडौं । निर्वाचन आयोग नेपालमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे ब्रिफिङ गरेका थिए । सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र मतदाताले निर्भयपूर्वक मतदान गर्न सक्ने वातावरण रहेको जानकारी गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा सम्भावित सुरक्षा चुनौती र त्यसको समाधानका उपायबारे विस्तृत छलफल भएको थियो । उहाँले केही स्थानमा छिटपुट घटना भए पनि स्थानीय प्रशासनको सक्रियताले अप्रिय अवस्था सिर्जना हुन नदिएको र समग्र वातावरण निर्वाचनमय बन्दै गएको बताउनुभयो ।
प्रवक्ता भट्टराईले मतदानका लागि सहज रूपमा घर जान–आउन वातावरण मिलाउन आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको जानकारी दिँदै यसबाट मतदाताको सक्रिय सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया