काठमाडाैं । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
आयोगले मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी मतगणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना बनाएको हो । सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभाको मात्रै निर्वाचन भएकाले यसपटक मतपरिणाम आउन धेरै समय नलाग्ने बताउनुभयो ।
मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै उहाँले समानुपातिकतर्फको मतगणनामा एक–दुई दिन लाग्न सक्ने भए पनि प्रत्यक्षतर्फको नतिजा मतपेटिका संकलन भएको २४ घण्टाभित्र घोषणा गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उपत्यका बाहिर मतपत्र पठाउने काम सम्पन्न भइसकेको छ भने काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म मतपत्र पुर्याइनेछ । मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामग्री बुझेर सम्बन्धित मतदान केन्द्रमा खटिने तयारी रहेको उहाँले बताउनुभयो ।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भई आयोग कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको जानकारी दिँदै उहाँले मतपत्र छपाइदेखि ढुवानीसम्मका जटिल व्यवस्थापकीय काम पूरा भएको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको उल्लेख गर्नुभयो ।
हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारणबारे भने आयोग अझै निर्णयमा नपुगेको उहाँले स्पष्ट पार्नुभयो । भौगोलिक विकटता र प्रतिकूल मौसमलाई ध्यानमा राख्दै मतदातालाई मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी छिट्टै निर्णय गरिने उहाँको भनाइ छ ।
यसैबीच, भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन आग्रह गर्नुभएको छ । उहाँले निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिँदै सामाजिक सञ्जालमा आउने असत्य समाचार तत्काल हटाउन र त्यसको पछि नलाग्न मतदातालाई आग्रह गर्नुभयो ।
प्रतिनिधिसभा निर्वाचनका लागि यही फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया