निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउन मन्त्रालयको आग्रह

44 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोग नेपालसँग आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निर्वाचनको समयमा हुनसक्ने सम्भावित दुर्घटना तथा अन्य आकस्मिक घटनालाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचन अवधिमा स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्ने हुन्छ। “निर्वाचनको समयमा हुनसक्ने दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनुपर्ने भएकाले आयोगसमक्ष निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ,” प्रवक्ता बुढाथोकीले भन्नुभयो।

मन्त्रालयले निर्वाचन अवधिभर स्वास्थ्य संस्थाहरूलाई सतर्क रहन र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन तयारी अवस्थामा बस्नसमेत निर्देशन दिएको जनाएको छ।